गोर्खा ब्रुअरीद्वारा उत्पादित धेरैजसो बियर गुुणस्तरहीन बिक्रीवितरणमा समेत रोक।

गोर्खा ब्रुअरीद्वारा उत्पादित धेरैजसो  बियर गुुणस्तरहीन बिक्रीवितरणमा समेत रोक।

Himalaya Online

@Ehimalaya Online

२०७७ असोज २९ गते बिहिबार ०२:३५

पोखरा: खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ ।  गोर्खा ब्रुुअरीले मापदण्ड नपुर्‍याई विभिन्न...

पोखरा: खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ ।  गोर्खा ब्रुुअरीले मापदण्ड नपुर्‍याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

विभागले वर्गीकरणमार्फत ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् ।

बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागका अधिकारीले बताएका छन् ।

गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा सचेतता अपनाउनसमेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । ‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी हो । हामी गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले राजधानीसँग भने ।

विभागका ती अधिकारीका अनुसार गोर्खा ब्रुुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ ।

उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ तर उम्कन सक्ने अवस्था भने नरहेको विभागका अधिकारीको भनाइ छ । लकडाउनका बेला अनुुगमन नहुने र दसैंको समयमा अकुुत रूपमा नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि खेलबाड गरेको एक विज्ञले बताए ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । (यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।)

प्रकाशित मिति २०७७ असोज २९ गते बिहिबार ०२:३५
Comments